काठमाडौं,१० कात्तिक ।
त्रिदेशीय टी-२० क्रिकेट सिरिजको फाइनलमा नेपालका ओपनर कुशल भुर्तेलले शुक्रबार अर्धशतक बनाएका छन् ।

युएईविरूद्ध कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको फाइनलमा कुशलले २८ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले अर्धशतक पूरा गर्ने क्रममा ६ चौका र ३ छक्का प्रहार गरे।

अर्धशतक प्रहार गरे लगत्तै उनी आउट भए। उनी आउट हुँदा नेपालले ७.३ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन जोडेको स्थिति थियो।

त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए। उनलाई युएईका आयान खानले पाँचौ ‌ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए। यस्तै कुशल मल्ललाई पनि आयानले १ रनमा बोल्ड गरेका थिए ।

सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले युएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित रहन सफल भएको हो।

अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी-२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी-२० सिरिज खेलेको हो ।