काठमाडौं,४ कात्तिक ।
त्रिदेशीय टी-२० सिरिजमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको छ।
शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो। नेपालले ६ विकेट गुमाएर दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनायो।
नेपालका लागि टी-२०मा डेब्यु गरेका प्रतिश जिसीले १९.५ बलमा हरून आर्शदको विकेट लिए।
करण केसीले १८.६ ओभरमा स्टक मिककेनी, सोमपाल कामीले १४.६ ओभरमा जिशन अली र ललित राजवंशीले १५.२ ओभरमा ऐजाज खानको विकेट लिए।
दीपेन्द्रसिंह ऐरीले हङकङका अन्शुमन राथको विकेट लिएका हुन्। राथले हङकङका लागि सर्वाधिक ४५ रन बनाएर आउट भएका हुन् ।
त्यसअघि ७.६ ओभरमा सोमपाल कामीले बाबर हयातलाई आउट गरेका थिए। ललित राजवंशीले २.२ ओभरमा निजाकत खानलाई आउट गरेका हुन् । खानले प्रहार गरेको बल प्रतिश जिसीले क्याच गरेका थिए ।
पहिलो ओभरको दोस्रो बलमा करण केसीले मार्टिन कोइत्जीलाई बोल्ड गरेका थिए ।
नेपालको ब्याटिङतर्फ कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक रन पूरा गरेका छन्।
मल्लले ४१ बलमा ९२ रन बनाएर आउट भए। उनले तीन चौका र ९ छक्का प्रहार गरेका छन् ।
यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ५७ रन बनाएका छन्। उनले ६ चौका र दुई छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन्।
ओपनर आसिफ शेखले १३ बलमा २० रन पूरा गरी आउट भएका थिए। कप्तान रोहित पौडेलले ११ रन, सोमपाल कामीले ८ रन र ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए।
नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले योसँगै तीन खेलमा जित हात पारेको छ।
यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो। गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।
आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ।
अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच शुक्रबार फाइनल हुनेछ।






