मिडियाको भूमिका ससक्त बनाउन जरुरी
काठमाडौँ,२ कार्तिक ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पपुलिजमका कारण नेपालमा लोकतन्त्र जोखिममा परेको बताएका छन् । यस्तो बेला लोकतन्त्र रक्षाका लागि मिडियाको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ । नेपाल प्रेस युनियनले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले पपुलिजम कुनै राजनीतिक दल वा राजनीतिमा मात्रै समस्याका रुपमा नरहेको बताए ।
‘पपुलिजम नेपालमा मात्रै होइन, अहिले विश्वभरि नै लोकतन्त्रका लागि सबैभन्दा चुनौतीको विषय बनेको छ । यो पपुलिजम फेरि एउटा आकार वा एउटा रंग वा एउटा स्वरुपमा मात्रै आइरहेको छैन । पपुलिस्ट पनि हामी एकपटक एउटा दलको एउटालाई ऊ त्यो फलानोचाहिँ पपुलिस्ट छ भनेर भनिरहेका हुन्छौँ । तर त्यो त्यतिमै सीमित भएको पाइँदैन । यसले राजनीतिलाई मात्रै होइन, यसले मिडियालाई पनि गाँजेको छ,’ थापाले अघि भने, ‘यसले संसद्लाई, हाम्रा संस्थाहरूलाई, अदालतलाई समेत गाँजेको छ । पपुलिजम अब एउटा रोग नै बनिसकेको छ ।’
उनले यस्तो बेला लोकतन्त्रलाई पपुलिजमबाट जोगाउन मिडियाको अर्थपूर्ण भूमिकाको खोजी भइरहेको बताए ।
महामन्त्री थापाले आगामी महासमिति बैठकबाट पार्टी र मुलुकका समस्याहरूलाई समाधानको दिशामा अघि बढाउन नीतिगत रुपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताए । ‘कसैले पनि बीपीको विचार छोडेको कारणले गर्दा समस्या भयो भनेर साथीहरूले टिप्पणी गरिदिनुहुन्छ । तर हामीले यसैगरी बीपीमाथि अन्याय गरिरहेका पो छौँ कि भन्ने लाग्छ,’ उनले भने, ‘त्यसकारण समस्याको लक्ष्मणमा होइन, कारणमा गहिरिएर समाधानको खोजी गर्नुपर्ने हुन्छ । त्यो काम हामी महासमितिबाट गरौँ । महासमिति बैठकको अधिकतम प्रयोग गरौँ ।’






