काठमाडौँ,२९ असोज ।
कोशीमा प्रदेश सरकार गठनको विषयमा नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै फरक मत दर्ज गराएका छन् ।
सोमबार सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा महामन्त्रीद्वय थापा र शर्माले कोशीको सरकार बनाउने सन्दर्भमा सभापतिले लिएको निर्णय र त्यसविरुद्व भएको विद्रोहका कारण बनेको मानक दुवै गलत भएको बताएका हुन् ।
सभापतिले देउवाले लिएको निर्णयमा आफूहरूको संलग्नता नभएको प्रस्ट्याउदै उनीहरूले कोशीमा त्यो परिस्थिति हुनुका पछाडि सबैभन्दा धेरै कमजोरी सभापतिबाटै भएको बताए । कोशीमा भएको बिद्रोहको बिषयमा छलफलका गर्न सभापति देउवाले सोमबार अपराह्न पार्टीका उपसभापति र महामन्त्रीहरूलाई बोलाएका थिए । बैठकमा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए ।
बैठक कोशी प्रदेशको विषयमै केन्द्रित भएको नेताहरूले बताएका छन् । सभापति देउवासँगको छलफलपछि महामन्त्री शर्माले सभापति र पार्टीभित्र फरक मत समूहको नेतृत्व गर्ने नेता दुवैले गलत गरेको बताए । उनले आइतबार सामाजिक सञ्जालबाट पनि त्यही कुरा उल्लेख गरेका थिए ।
उनले कोशीको प्रकरणमा आफूहरूमाथि आरोप लगाइएकोप्रति असन्तुष्टि राखे । महामन्त्री शर्माले नेता शेखर कोइरालाले कांग्रेसको भागमा परेको मुख्यमन्त्री महामन्त्रीहरूसहितको मिलेमतोमा माओवादीलाई दिएको भनेर आरोप लगाएकोप्रति खण्डन गरे । उनले त्यसबारे कोइरालाले प्रस्टसमेत पार्नुपर्ने बताए ।
सोमबार सभापति शेरबहादुर देउवासँग भेटेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले अहिलेको अवस्थामा कुनै पनि प्रदेशको मुख्यमन्त्री कांग्रेसले मात्रै पाउने अवस्था नरहेको बताए । उनले पार्टीले माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेकोमा आफूहरूको संलग्नता नै नभएको समेत स्पष्ट पारे ।
कोशीमा कांग्रेसका केदार कार्कीले आफ्नो दलका २९ मध्ये ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र हाल मुख्यमन्त्री नियुक्त भएका छन् । जबकि कांग्रेस सभापति देउवाले भने माओवादी केन्द्रलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरिसकेका थिए ।
तर नेता कोइरालाले विद्रोह गरेर कार्कीलाई मुख्यमन्त्री बन्न सघाएपछि अहिले कांग्रेसभित्र तरंग छ । एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् ।
महामन्त्री शर्माले कोशीमा अहिले जे भयो, त्यसको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने र त्यसप्रकारको घटना भविष्यमा दोहोरिन दिननहुने बताए । ‘अहिले जे भएको छ, त्यो घटनामा सभापति र फरक मत समूहको नेताले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । उहाँहरू सुध्रिन आवश्यक छ । किन यो प्रकारको दुर्घटना भयो, ‘यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ,’ सभापतिसँगको छलफलमा आफूहरूले राखेको विषयबारे शर्माले भने ।
उनले बैठकमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे भने अहिले कुनै छलफल नभएको बताए ।






