काठमाडौं,२६ असाेज ।
प्रतिनिधिसभाको बैठक आगामी कातिक १२ गते सम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वको शुभकामना व्यक्त गर्दै कातिक १२ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको जनाएका हुन् ।
आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै, विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।
थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई सदनले स्वीकृत गरेको छ ।






