काठमाण्डौ,२५ असाेज ।
युद्धग्रस्त इजरायलमा अलपत्र नेपालीहरूलाई लिन गएको नेपाल वायु सेवा निगमको जहाज नेपालीहरूलाई लिएर इजरायलबाट काठमाण्डाैका लागि उडेको छ ।

द्वन्द्वका कारण अलपत्र नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित गएको जहाज नेपालीहरू लिएर आजै राती काठमाण्डौ आइपुग्ने छ । जहाजमा २५३ जना रहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
इजरायलको तेलअभिभ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज इन्धन भर्नका लागि केही समय यूएईमा रोकिने छ ।
हमासको आक्रमणबाट बचेका नेपाली विद्यार्थीहरूले आफूहरूको जीवन दान दिएर स्वदेश पठाएको इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् ।
तर आफूहरू फर्किए पनि आक्रमणमा परी घाइते भएका केही साथीहरू अहिले उपचाररत रहेको र एक जना हराइरहेकाले घाइतेको उपचार र हराएका साथीको खोजी गरिदिन उनीहरूले अनुरोध गरेका छन् ।
इजरायलबाट घर फर्कन नाम टिपाएका मध्ये झण्डै आधा नेपाली मात्रै आज फर्किन लागेका हुन् ।
पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरीसमेत रहेका छन् । धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका छन् । उनि उपचारकै क्रममा रहेका छन् ।
यस्तै आक्रमणमा परि घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् ।
१७ जनाको समूहमा भएको हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा मृत्यु भएकाकाे शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलले सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए ।
इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण संकलन गरिरहेको छ ।






