लुम्बिनी,१८ असोज ।
बौद्ध दर्शन, शिक्षा र लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालय संगसंगै रहनुपर्ने एक कार्यक्रममा औल्याइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले बिहीबार विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाको स्वागतमा आयोजना गरिएको कार्यक्रममा बोल्दै दुबै संस्थाका पदाधिकारीहरुले दुई संस्था एकसाथ अघि बढ्नुपर्ने बताएका हुन् ।

सो अवसरमा बोल्दै विकास कोषका उपाध्याक्ष लामाले बौद्ध दर्शन र शिक्षाको विकासले नै पर्यटक भित्र्याउन सकिने भन्दै विश्वविद्यालयको उन्नतीमा विकास कोषले अग्रणी भएर काम गर्ने बताए । विकास कोषकै अग्रसरतामा विश्वविद्यालय स्थापना भएको भन्दै उनले यसको विकास गर्ने दायित्व पनि कोषकै रहेको बताए ।

लुम्बिनीमा शैक्षिक तथा धार्मिक पर्यटक भित्र्याउनका लागि दुई संस्थाले मिलेर काम गर्नुपर्ने बताए । विकास कोषले बजेट छुट्याएर विश्वविद्यालयको विकासमा काम गर्ने भन्दै उनले गुरुयोजना निर्माण सकिएपछि विकास कोषका आम्दानी विश्वविद्यालयमा लगानी हुने उल्लेख गरे ।
सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विकास कोष अभिभावक भएर विश्वविद्यालयको विकासमा काम गर्ने विश्वास व्यक्त गरे । विश्वविद्यालयको विकासका लागि बोर्ड अफ ट्रष्टी निर्माणको प्रक्रिया अघि बढाइएको भन्दै उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा विकास गरिने बताए ।
बौद्ध शिक्षाको विकासका लागि विदेशी राष्ट्रहरुबाट सहयोग लिइने बताउदै उनले शैक्षिक विकासमा विकास कोषको अभिभावकत्व र संरक्षण आवश्यक रहेको बताए ।

त्यस्तै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विकास कोषले विश्वविद्यालय स्थापनामा अग्रणी भूमिका निभाए पनि पछिल्ला दिनहरुमा निष्कृय रहेको भन्दै चिन्ता व्यक्त गरे । विश्वविद्यालयको विकासका लागि विकास कोषले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो । भोट बौद्ध अध्ययन तथा आर्काेलोजी जस्ता विषयहरु सञ्चालनमा विकास कोषको सहयोग गर्नुपर्ने उनले बताए ।
विकास कोषको आम्दानीको ५ प्रतिशत रकम विश्वविद्यालयलाई दिने गरी परिषद्बाट निर्णय भएको स्मरण गराउदै उनले त्यसको कार्यान्वयन गर्न उपाध्यक्ष लामालाई आग्रह गरे । उनले विश्वविद्यालयको सभामा कोषको पदेन सदस्य रहेको र कोषका परिषद्मा पनि विश्वविद्यालयको प्रतिनिधित्व गराउदै दुई संस्थालाई जोड्दै जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा आर्काेलोजी विभागका प्रमुख प्राध्यापक बसन्त विडारीले बुद्ध जन्मस्थल आध्यात्मिक हुन नसकिरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘लुम्बिनी जस्तो हुनुपथ्र्याे, त्यस्तो हुन सकिरहेको छैन, उनले भने ।
त्यस्तै भोट भाषा विभागका प्रमुख डा. ङिमा शेर्पाले भोट बौद्ध अध्ययन गर्ने विद्यार्थीहरुलाई शिक्षाको मुलधारमा ल्याउनका लागि विकास कोषले लगानी गर्नुपर्ने बताए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्रचार्यको अध्यक्षता तथा शाखा अधिकृत चुरामणि पोखरेलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विश्वविद्यालयले जनाएको छ ।