काठमाण्डाै,१७ असाेज ।
देशका केही ठाउँमा गएरातिदेखि नै लगातार पानी परिरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि पानी परिरहेको छ।
काठमाण्डौ उपत्यकामा पनि रातिदेखि पानी परिरहेको छ । आज पनि काठमाडौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद् लामिछानेले जानकारी दिए । उनका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
गएराति पाल्पा र आसपासका क्षेत्रमा धेरै वर्षा भएको छ । ती क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिमतिर पानी परेको हो । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको हो ।
सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । आज अक्टोबर चार तारिख हो । यसपालि एक हप्ता ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।






