काठमाण्डाै,१६ असोज ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिएका छन् ।
आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिएका हुन् । उनले ललिता निवास जग्गा प्रकरणको फाइल खोले पनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताए । सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरूलाई जोगाउनका लागि सरकारले पसिना छुटाउनु परेको उनले टिप्पणी गरे । यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्साउन लागेको भन्दै उनले सरकारको ‘ब्ल्याकमेलिङ’ बाट आफूहरू नतर्सिने बताए ।
अध्यक्ष ओलीले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा सबै राजनीतिक दलहरूलाई एकताबद्ध हुन आग्रह गरे । उनले राष्ट्र हित, विकासका प्रयास, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताका विषयहरूमा एकजुट हुनुपर्ने बताए । त्यस्तै राजनीतिक उपलब्धि र संविधानको रक्षा गर्न पनि सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।






