धनकुटा,९ असाेज ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनयुद्धकालीन अवस्थामा जस्तै जनकारबाही गर्न थालेको छ ।
साे पार्टीद्वारा श्रमिकको श्रम शोषण गरेको भन्दै धनकुटामा ठेकेदारलाई जनकारवाही गरेको हो ।
धनकुटा नगरपालिकाको वडा नम्बर १ हिले स्थित कबर्ड हल निर्माण कार्यमा श्रमिक तथा मजदुरहरुलाई ज्याला नदिएकाे भन्दै ठेकेदार माथि कारवाही गरिएको साे पार्टीले जनाएको छ ।
महिनौदेखि श्रमिकलाई ज्याला नदिएको भन्दै सुपेरियर मालिका जे.भी. कम्पनीका ठेकेदार प्रदिप कार्की उर्फ चुल बहादुर कार्कीलाई जनकारबाही स्वरुप कालोमोसो दलेर उक्त पार्टीले जनकारवाही गरेको जिल्ला संयोजक मोहन घलेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उक्त हिलेमा सुपेरियर मालिका जे.भी. कम्पनीले तीन करोड पचास लाख सरकारी बजेटको योजनामा कबर्ड हल निर्माण गरी रहेको छ ।
कार्कीले ५० जना मजदुरलाई ९ महिनासम्म आफ्नो साइडमा काम लगाई ज्याला नदिएकाे भन्दै पीडितहरुले सो पार्टीको न्यायिक समितिमा निज विरुद्ध उजुरी दिएका थिए ।
न्यायिक समितिले श्रमिकलाई ज्याला भुक्तानी गरेर न्याय प्रदान गर्न ताकेता गर्दा समेत अटेरी गरेकोले चेतावनी सहित सांकेतिक कारबाही गरेको साे पार्टीले जनाएको छ । मजदुरहरु एकल वा सामुहिक रुपमा ज्याला माग्न जाँदा गाली गलौज र दुर्ब्यवहार गर्नुकासाथै डर, त्रास ,धाक ,धम्की दिने गरेको भनी पीडितहरुले गुनासो गर्दै आएका थिए ।
सो पार्टीले शोषण,उत्पीडन,भ्रष्टाचार,घुस जस्ता अन्य गतिविधि भएमा जिल्ला संगठन समिति अन्तर्गत न्यायिक समिति समक्ष गुनासो तथा उजुरी गर्न आम जनसमुदायमा अपिल गरेको छ ।









