काठमाण्डौं,६ असोज ।
राष्ट्रिय जनमुक्ति पार्टीको राष्ट्रिय जनमुक्ति पार्टीको संगठन “शुद्धीकरण – सुदृढीकरण” अभियान सुरु भएको छ ।

५ महिने अभियानको शुक्रबार पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौमा एक कार्यक्रमकाबीच पार्टी उपाध्यक्ष काजीमान आत्रेयले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथिको रुपमा उद्घाटन मन्तव्य दिँदै उपाध्यक्ष काजीमान आत्रेयले पार्टीको संगठन विभागबाट प्रस्तुत ५ महिने अभियानको मार्गचित्र उत्साहजनक भएको बताए । उनले यो मार्गचित्र अनुसार पार्टीले काम गर्न सकेमा राष्ट्रिय जनमुक्ति पार्टी एउटा उचाईमा पुग्ने विश्वास व्यक्त गरे । उनले भने – “पार्टी शुद्धीकरण–सुदृढीकणको यो मार्ग चित्रले अब पार्टीलाई बलशाली बनाउनेछ । तर सबै नेता कार्यकर्ताहरूले इमान्दार भएर, जागर गरेर काम गर्नै पर्छ ।“
आफ्नो तर्फबाट यस अभियानलाई तन, मन, धनले सक्दो उत्साह प्रदान गर्ने उपाध्यक्ष उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा पार्टीका अर्का उपाध्यक्ष बलदीप राइले अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विस्वास गर्दै अभियानमा जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

सो अवसरमा पार्टीका महासचिब तथा केन्द्रीय संगठन विभाग प्रमुख टोप अस्लामी मगरले अभियानको विस्तृत खाका प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पार्टीका सचिव पूर्ण बहादुर राना, कोषाध्यक्ष एवम् उपत्यका इन्चार्ज मान बहादुर राई, सिएमसी प्रमुख डब गर्बुजा पुन, केन्द्रीय सदस्य एवम् केन्द्रीय सचिवालय सदस्य अधिवक्ता जुजुकाजी महर्जन, केन्द्रीय सचिवालय सदस्य राम ब. अस्लामी मगर,केन्द्रीय सदस्य जगदीशमान राजभण्डारी लगायतका नेताहरुले राष्ट्रिय जनमुक्ति पार्टीद्वारा उद्घोष गरिएको ५ महिना लामो (असोज – माघ) अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबै लाग्नु पर्नेमा एकमत जाहेर गर्दै प्रतिबद्धता व्यक्त गरेका थिए ।

शुक्रबार केन्द्रीय कार्यालयबाट सुरु भएको अभियान यही असोज ११ गते प्रदेश १ मा प्रदेश स्तरीय कार्यक्रम गरी असोज २० गते सम्ममा प्रदेश स्तरीय रूपमै त्यसपछि क्रमशः विभिन्न कार्यक्रमहरु स्थानीय तह सम्म सम्पन्न गरी माघ महिनामा पहिलो चरणमा सम्पन्न हुने पार्टीका महासचिब अस्लामीले जानकारी दिए ।

कार्यक्रमको दौरानमा राजधानी उपत्यका बाहिर रहेका पार्टी अध्यक्ष केपी पालुङ्वा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले आ–आफ्नो कार्यक्षेत्रबाट उद्घाटन कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।