काठमाण्डौ,३ असाेज ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै नेपाल शिक्षक महासंघले आज काठमाण्डौमा मार्च पास गर्दैछ । आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासंघले जनाएको छ ।
महासंघले उठाएका मागहरू बारे छलफलका लागि वार्तामा आउन सरकारले गरेको आह्वानलाई अस्वीकार गर्दै प्रदर्शनमा सहभागी हुन देशका ७७ वटै जिल्लाबाट शिक्षकहरु काठमाण्डौ आएका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाण्डौँ आएका हुन् । उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने महासंघले जनाएको छ । विद्यालय शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । सरुवा बढुवा, दरबन्दी, पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
महासंघको आन्दोलनका कारण देशभरको पठनपाठन प्रभावित हुने भएको छ । अहिले प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने महासंघले जनाएको छ । विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन महासंघकी अध्यक्ष कमला तुलाधरको आग्रह छ ।
हिजो शिक्षा मन्त्रालयले आन्दोलनरत महासंघलाई वार्ताका लागि बोलाएको थियो । तर, महासंघले वार्तामा बस्ने अस्वीकार गरेको छ ।
महासंघले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनु पर्ने माग गरेको छ ।
विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने महासंघको कदमप्रति कतिपय पालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
वार्ताका बस्नै अस्वीकार गर्ने महासंघको कदमलाई नागरिकस्तरबाटै बिराेध हुन थालेको छ ।






