काठमाडौ,३१ भदौ ।
एसिसी एसिया कप क्रिकेट–२०२३ को उपाधि भारतले जितेको छ । आइतबार श्रीलङ्काको आर प्रेमदासा स्टेडियममा भएको फाइलमा भारतले घरेलु टोली श्रीलंकालाई १० विकेटले हरायो ।

भारतको यो नवौं एसिया कप उपाधि हो । यसअघि भारत आठ पटक च्याम्पियन बनेको थियो । जितका लागि श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पछ्याएको भारतले ६.१ ओभरका लक्ष्य पूरा गरेको हो । भारतका लागि ओपनरद्वय शुभमन गिलले २७ र ईशान किशनले २३ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका भारतका तीब्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङमा निरिह बनेको थियो । श्रीलंका १५.२ ओभरमा सबै विकेटको क्षतिमा ५० रनमा समेटिएको थियो। श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक १७ र दुसान हेमान्थाले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

श्रीलंकाको यो एकदिवसीय क्रिकेटमा दोस्रो कम योगफल हो । यसअघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । एकदिवसीयमा सर्वाधिक कम योगफल भने जिम्बाबे र अमेरिका ३५ रनमा आउट भएको इीतहास छ । सन् २००४ मा जिम्बाबे श्रीलंकासँग ३५ रनमा र सन् २०२० मा अमेरिका नेपालसँग ३५ रनमा अल आउट भएको थियो ।

बलिङमा भारतका मोहम्मद शिराजले सात ओभरमा एक मेडनसहित २१ रन खर्चिएर ६ विकेट लिए । हार्दिक पाण्डेयले तीन तथा पाजस्प्रित बुमराहले एक विकेट लिए । एजेन्सी