नवलपरासी,२७ भदौ ।
शैक्षिक बिकृति बिसंगतिका बिरुद्ध आन्दोलनरत बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा गरेको तालाबन्दी खुलेको छ ।
अखिल (क्रान्तिकारी) र नगरपालिकाबीच ४ बुँदे सहमति पछि बुधबार तालाबन्दी खुलेको हो ।
कक्षा ११ र १२ को कक्षा संचालनमा एकरुपता ल्याउने, संस्थागत बिद्यालयले गतबर्षकै मासिक शुल्क कायम गर्ने, संस्थागत बिद्यालयले प्रमाणपत्र दिदाँ जथाभावी रुपमा पाँच हजार भन्दा बढी शुल्क लिएकोमा उक्त शुल्क नगर शिक्षा समितिबाट निर्धारण गर्ने, बिद्यालयहरुको अनुगमनको गति बढाउने लगायतको सहमति पछि ताला खोलिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
मंगलवार मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सम्बद्ध अखिल (क्रान्तिकारी) ले शाखाका प्रमुख उपसचिव लोकराज पन्थीको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
बुधवार संगठनलाई नगरपालिकाले पत्राचार गरेर वार्तामा बोलाएको र वार्तामा चार बुदें सहमति भएपछि तालाबन्दी खाेलिएकाे संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिए ।
उक्त वार्तामा नगर प्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख रुद्र प्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल र शिक्षा शाखा प्रमुख लोकनाथ पन्थी, सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङकाे सहभागीता रहेको थियो ।
आन्दोलनरत संगठनको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटा, केन्द्रीय सदस्य तथा जिल्ला कार्यालय सदस्य सुवास शर्मा, छात्रा बिभाग प्रमुख बिमला गिरी र जिल्ला सदस्य आनन्द ढकालको सहभागिता रहेको थियो ।









