नवलपरासी,२१ भदौ ।
अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउदै ३ दिनभित्र संस्थागत बिद्यालयको शुल्क बृद्धि रोक्न माग गरेको छ ।

संस्थागत बिद्यालयहरुले मनमौजी रुपमा शुल्क बृद्धि गरेको र प्रमाणपत्रका नाममा महंगो अतिरिक्त शुल्क लिएको भन्दै अनुगमन गरेर ३ दिनभित्र दोषीलाई कारवाहीको दायरामा ल्याउन अखिल क्रान्तिकारीले माग गरेको छ ।

मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा विहीवार ध्यानाकर्षण पत्र बुझाएको हो ।

संगठनका जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा संगठनका जिल्ला कार्यालय सदस्य सुवास शर्मा र छात्रा बिभाग प्रमुख बिमला गिरी सहितको टोलीले शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत गोबिन्द शर्मालाई संगठनले बिगतमा बुझाएको ज्ञापन पत्र प्रति बेवास्ता गरिएको भन्दै असन्तुष्टि ब्यक्त गरेको थियो ।

उक्त अवसरमा संयोजक सापकोटाले संगठनका माग लाई बेवास्ता नगर्न आग्रह गर्दै बिद्यार्थीहरुका जायज माग पूरा गर्न ध्यानाकर्षण गराए । उनले नगरले शैक्षिक कार्यक्रमलाई एकरुपतामा ल्याउन शाखाले पहल नगरेको बताउदै सामुदायिक बिद्यालयहरुमा बिभिन्न नाममा शुल्क लिने गरिएको बताए ।

उनले संस्थागत बिद्यालयले ट्रान्सक्रिप्ट र सर्टिफिकेटको नाममा प्रति बिद्यार्थी पाँच हजार सम्म लिएको बताउदै त्यो कार्य नरोकिए आन्दोलनमा उत्रने चेतवानी समेत दिए ।

सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले शैक्षिक एंव बिभिन्न माग राख्दैं पार्टीले नगरमा ज्ञापनपत्र बुझाएको परिपेक्ष्यमा बिद्यार्थीहरुका जायज माग पूरा गर्न तर्फ शिक्षा शाखाले तदारुकता देखाउनुपर्ने औल्याए ।

टोलीलाई शाखा अधिकृत शर्माले कतिपय मागहरु जनप्रतिनिधिको तर्फबाट र केही कर्मचारीहरुको तर्फबाट पूरा गर्नुपर्ने माग रहेको बताउदैं शाखाले संगठनले ध्यानाकर्षण गराएका बिषयलाई गम्भिर रुपमा लिएको बताए । शाखा प्रमुख आउने बित्तिकै जानकारी गराउने उनको भनाइ थियो ।