काठमाडौँ,२१ भदौ ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युत्बाट घाटा बेहोरिरहेको अभिव्यक्ति दिएका थिए । राजदूतको उक्त अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।
बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धबारे बोल्न नमिल्ने बताए ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदूतहरूले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताए । उनले कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिनु नहुनेमा सबैले ध्यान पु¥याउनुपर्ने बताए ।

नेकपा (एमाले) का सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले बोल्नु राम्रो नभएको बताए । उनले चिनियाँ राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्ट पारेपछि मात्रै आफूहरूले थप दृष्टिकोण राख्ने बताए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिनु नहुने बताए । अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कूटनीतिक हिसाबले पनि बेठिक भएको उनको भनाइ थियो । यस विषयमा चिनियाँ राजदूतलाई सतर्क गराउनसमेत परराष्ट्र मन्त्रालयलाई उनले आग्रह गरे ।