काठमाण्डौ,२१ भदौ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् संविधानसभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे संसद्लाई जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् ।

आज बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले यी घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि सभामुखले महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा उपचारको अभावमा ज्यान गुमाएकी पाँच वर्षीया बालिकाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

बैठकमा सांसदहरूले यी दुवै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।