लुम्बिनी,२१ भदौ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्हारक्याल लामाले
आफ्नो कार्यकालमा गुरूयाेजनाका बाँकी काम पूरा गर्ने दृढता ब्यक्त गरेका छन् ।
आज लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारसँगको अन्तरक्रियामा उपाध्यक्ष लामाले आफ्नो कार्यकालमा लुम्बिनी गुरूयाेजनाका बाँकी काम जसरी पनि पूरा गर्ने दृढता ब्यक्त गरेका हुन् ।
अब ६/७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा पनि समस्या छ, म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु, केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने छु,’ उनले भने ।
उपाध्यक्ष लामाले कोषलाई सबै पक्षमा पारदर्शिता बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै त्यसमा साथ दिन पत्रकारलाई आग्रह गरे । ‘पारदर्शिता आर्थिकको मात्र होइन, हरेक काम र जिम्मेवारीको पारदर्शिता गराउने छु, यहाँको जमिन, स्रोत, कर्मचारीको अवस्था, स्थानीयको सहयोग सबैलाई पारदर्शी बनाउने छु,’ उनले भने ।
उपाध्यक्ष लामाले गुरूयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको विषयमा सबैलाई महशुस भएको बताउँदै त्यसको लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँगको परामर्शमा गरिने बताए ।
‘४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ,’ उनले भने ।
लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउन देवदह,तिलौराकोट, रामग्राम र कुदानमा बिहार बनाएर बौद्ध गतिविधि बढाउने योजना कार्यान्वयन गर्ने उनले बताए ।
लुम्बिनी क्षेत्रमा पशु बध र मासु बिक्री वितरण अव्यवस्थित हुँदा लुम्बिनीको गरिमामा आँच पुगेकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा लामाले जोड दिए ।
कोषभित्र आर्थिक पारदर्शिता नभएको विषय स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताउदै उनलेे काेष भित्रका सबै पदाधिकारी तथा कर्मचारीकाे कामकारबाही पारदर्शी हुनुपर्ने बताए ।
आफू कमाउनका लागि लुम्बिनी नआएको भन्दै उनलेे लुम्बिनीको विकासमा योगदान पुर्याउने आफ्नो उद्देश्य रहेको जिकिर गरे ।
उनले आर्थिक अनुशासन र पारर्दिता कायम राख्न कर्मचारीलाई निर्देशन दिइएको बताए ।
कोषभित्रका बिहारहरुले विदेशी पाहुना राख्दा होटेल व्यवसायीहरु मर्कामा परेको गुनासो आएको भन्दै विहारहरु अन्य देशमा पनि हुने तर तिनीहरुलाई करको दायरामा ल्याउनुपर्ने बताए ।
उनले बुद्धत्व झल्किने गरी मायादेवी मन्दिर पुनःनिर्माणका लागि व्यक्तिगत रुपमा सात करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको हुँदा उक्त रकम छिटै उपलब्ध गराउने बताए ।
आफ्नो नियुक्तिलाई लिएर नियतवश रूपमा अनावश्यक भ्रम सिर्जना गर्ने प्रयास गरिएको भन्दै उपाध्यक्ष डा लामाले सम्बन्धित निकाय अख्तियार र अदालतबाट समेत सफाई पाएकाे बिषयलाई उछालेर भ्रम सिर्जना गरिएको भए पनि त्यो बिवाद निरूपण भइसकेको बताए ।
उनले भने-´म आउने भएपछि केही ब्यक्ति आत्तिए उनिहरूबाट भ्रम फैलाउने काम भएको हो ।´






