काठमाडौँ,२० भदौ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपको एक कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । यादवको टाउको पछाडि चोट लागेको छ । यादवमाथि धारिलो हतियारले आक्रमण गरिएको बताइएको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।

यसैबीच नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई सांघातिक आक्रमण गर्ने श्याम सापकोटा पक्राउ परेका छन् । सहमहामन्त्री यादवलाई काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रमबाट बाहिरिने क्रममा उनले धारिलो हतियारबाट आक्रमण गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ । आफूलाई राजावादी अभियन्ताको रुपमा चिनाउने सापकोटाले यादवमाथी किन आक्रमण गरे भन्ने अझै खुलिसकेको छैन ।