बुटवल,१९ भदौ ।
राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देही क्षेत्र नं ३ काे आयोजनामा मंगलबार भैरहवामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय महिला माेर्चा केन्द्रीय अध्यक्ष होमाया गुरूङले बिगतमा हरितालिका तीज पर्वको अवसरमा महिलाहरूले गीत मार्फत आ आफ्नो बेदना पाेख्ने गरेको स्मरण गर्दै अहिले परिस्थिति फेरिएकोले अब महिलाका हक अधिकारका कुरा गर्नुपर्नेमा जाेड दिइन् ।
राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सचिव गीता सारूले हरेक जात जाती,भाषा भाषी र धार्मिक समुदायका चाडपर्वकाे आ आफ्नै माैलिक बिशेषता र महत्त्व हुने भन्दै सबै चाडपर्व मिलेर मनाउनुपर्ने बताइन् ।
संघीयतामा मात्रै सबै जात जाती भाषा भाषी र धर्म समुदायकाे पहिचान र माैलिकता संरक्षण हुने भन्दै उनलेे पछिल्लो समय संघीयता बिराेधिहरूले संघीयता महँगो भयो भनेर गलत अफवाह फैलाएकोले त्यसतर्फ सचेत हुनुपर्ने आवश्यकता औंल्याइन् ।
कार्यक्रममा पार्टीका अर्का संघीय परिषद सचिव माेजिव अलीले जनमुक्ति पार्टीले स्थापनाकालदेखि संघीयता,समावेशीता र धर्म निरपेक्षताकाे एजेन्डा अगाडि सार्दै आएको भन्दै त्यसकै फलस्वरूप अहिले सभामुख उपसभामुख,पालिका प्रमुख उपप्रमुख लगायत राज्यका महत्त्वपूर्ण निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताए ।
महिलाहरूलाई घरको गृहमन्त्रीको रूपमा हेर्न गरिएको भन्दै उनलेे महिलाहरूलाई अब घरको मात्रै नभएर मुलुककै गृहमन्त्री बनाउनुपर्नेमा जाेड दिए ।
राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं ३ का अध्यक्ष हरी दर्लामीकाे सभापत्व र पार्टीका केन्द्रीय उपाध्यक्ष गुरूङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका तिलाेत्तमा नगर अध्यक्ष भाेम बहादुर बुढा,राष्ट्रिय महिला माेर्चा लुम्बिनी प्रदेश अध्यक्ष धनीसरा दर्लनमी,राष्ट्रिय महिला माेर्चा रूपन्देही अध्यक्ष ज्याेती थापा,पार्टीका क्षेत्रीय सचिव राधा गुरूङ,क्षेत्रीय काेषाध्यक्ष तथा कार्यक्रम संयोजक माया सारू लगायतले आ आफ्नो भनाइ राखेका थिए ।






