काठमाण्डौ,१८ भदौ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा अब राजनीतिक भागबण्डा नहुने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा मन्त्री गुरुङले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकमा सांसद प्रेम सुवालले सत्तासीन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि भनेर प्रश्न गरेका थिए ।
न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै मन्त्री गुरुङले त्यसमा दलीय भागबण्डा नहुने बताए ।
उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे ।

सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरु गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको सदनलाई जानकारी गराए ।

न्याय सम्पादनमा ढिलाई हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि मन्त्री गुरुङले बताए ।