काठमाडौँ,१८ भदौ ।
एसिया कप क्रिकेटमा नेपालविरुद्ध भारतले पहिले बलिङ गर्ने निर्णय गरेको छ । श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेल्ले रंगशालामा टस जितेर भारतले नेपाललाई पहिले ब्याटिङका लागि बोलाएको हो ।

यसअघि मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएको थियो।
सोमबार नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ । आरिफ शेखको ठाउँमा आज भीम सार्कीलाई खेलाइएको छ ।

नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबार हुने खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । भारतसँग खेल्न पाउनु नै एउटा सपना जस्तो रहेको नेपाल यो स्थितिलाई लिएर निकै रोमाञ्चित छ ।

पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।

नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ ।