काठमाडौँ,१८ भदौ ।
एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल सोमबार बलियो प्रतिद्वन्द्वी भारतसँग भिड्दै छ । पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले आज बलियो प्रतिद्वन्दी भारतसँग भिड्न लागेको हो ।

आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा रहेको छ भने नेपाल १५ औँ वरीयतामा रहेको छ । भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । उसले दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।

१६ औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान पछिल्लो आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा रहेको छ ।

नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको नेपालले भने हालसम्म खाता खोल्न सकेको छैन । त्यसैले सोमबार हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ ।

पाकिस्तान यसअघि नै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । अब समूह ‘ए’ बाट नेपाल र भारतमध्ये एक टोलीमात्र ‘सुपर फोर’ चरणमा पुग्नेछ । प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई—दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।

यस्तो स्थितिमा सोमबारको खेलमा दुबै टोली ‘गर वा मर’ को स्थितिमा हुनेछन् । सामान्यतः उक्त खेलमा जुन टोली विजयी हुन्छ त्यो सहजै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । तर, सोमबार हुने नेपाल र भारतबीचको खेल पनि वर्षाले विथोल्ने प्रबल सम्भावना देखिएको छ ।

नेपाल र भारत यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भिडेका थिएनन् । नेपालले बलियो टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नै यही एसिया कपमा हो । एसिया कपको उद्घाटन खेलमा नेपाली टोली पहिलो पटक पाकिस्तानसँग भिडेको थियो ।

सोमबार भारतसँग खेल्दा नेपाललाई पाकिस्तानसँगको खेलले पनि केही सहयोग गर्नेछ । आफ्नो पहिलो खेलमै विश्व क्रिकेटका धुरन्धर तिब्रगतिका बलरहरुको सामना गर्नुपरेको अनुभवले नेपाललाई भारतसँग खेल्न केही राहत दिनेछ । पाकिस्तानविरुद्घको खेलमा टस हारेर पहिलो बलिङको निम्तो पाएको थियो ।

नेपाली क्रिकेटले सन् १९९६ मा मात्र आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपाली टोलीले सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा मलेसियामा औपचारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यो एसीसी ट्रफी क्रिकेट प्रतियोगिता थियो । यस हिसाबले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको भर्खर २७ वर्ष पुग्दैछ ।

पहिलो पटक एसिया कप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देशाई रहेका छन् ।

यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, हार्दिक पाण्डेया, रविन्द्र जडेजा, सार्दुल ठाकुर, कुलदिप यादब, मोहम्मद सामी, जसप्रित बुमराह, मोहम्मद सिराज, अक्सर पटेल, सूर्यकुमार यादब, प्रसिद्ध कृष्ण, तिलक वर्मा र केएल राहुल रहेका छन् । केएल राहुल भने घाइते समस्याका कारण टोलीबाट बाहिरिइसकेका छन् ।