काठमाण्डौ,१६ भदौ ।
एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको पाल्लिकेमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८ दशमव २ ‌‍ओभरमा २ सय ६६ रन बनाएकाे हाे ।

भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहली विकेट लिएका हुन् । त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए ।

उनले शुभमन गिललाई १० रनमा आउट गरे । सुरुवातमा प्रमुख चार खेलाडी आउट भएपछि केहि दबाबमा परेको भारतका लागि ईसान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले ।

पाण्ड्या ९० बलमा ८७ रन र ईसान किसन ८१ बलमा ८२ रनमा आउट भए ।

रविन्द्र जडेजाले १४ रन बनाए । शार्दुल ठाकुर ३ रनमा आउट भए ।

पानी परेका कारण खेल दुई पटकसम्म केही बेरका लागि प्रभावित भएको थियो ।

अब पाकिस्तानले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ ।

पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ ।

एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । भारतको यो पहिलो खेल हो ।

नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।

भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ।