बुटवल,१६ भदौ ।
रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको ११ औं बार्षिक साधारण सभा तथा १६ औं पुस्तकालय दिवस सम्पन्न भएको छ ।
हरेक बर्ष पुस्तकालय दिवसको दिन आयोजना हुने बार्षिक साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष युवराज काफ्लेको बुवाको स्मृतिमा स्थापित कुस्माखर ट्रष्टले निफम मातहत लुतिसिएल आरसीको संरक्षकत्वमा मोफसलमा रहि विभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरुलाई के टी अवार्डद्धारा सम्मानित गर्ने गरेको छ ।
यसै क्रममा २०८० को के टी अवार्ड अन्तरगत पत्रकारितातर्फ एभिन्युज टेलिभिजनका लुम्बिनी प्रदेश ब्यूरो प्रमुख दामोदर खनाललाई सम्मानित गरिएको हो ।
त्यसैगरी स्वास्थ्य बिधातर्फ आम्दा अस्पताल बुटवलका बाल रोग बिशेषज्ञ डा. बिनोद पराजुली र सम्मरी गाउँपालिकाका सिनियर अहेब चतुर्भुज चौबेलाई सम्मानित गरिएको थियो ।
साहित्यतर्फ बुटवलका साहित्यकार तथा पत्रकार दिपक विश्वकर्मालाई सम्मानित गरेको छ ।
२०७३ सालमा स्थापना भएको यस अवार्डद्धारा आज सम्म ८ जना पत्रकार, स्वास्थ्य बिधा तर्फ ९ जना र साहित्य बिधातर्फ ६ जना गरि २३ जना साम्मानित भईसकेका छन् ।
साधारण सभाकै अवसरमा पुस्तकालयमा स्थापना भएका उत्तम गिरी शिक्षा कोष र जापानमा रहेका नेपालीको पहलमा स्थापना भएको शिक्षा कोष र बेपत्ता युवराज पाण्डे र शहिद दुर्गा पाण्डेको स्मृतिमा स्थापना भएकाे कोष बाट जनचेतना मा.वीमा अध्ययनरत गरिब, बिपन्न, जेहेन्दार १४ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री र बिद्यालय पोषाक बितरण गरिएको थियो ।
साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले हामी सवैको नजर पुस्तकालयभन्दा अरु क्षेत्रमा परिरहेको अवस्थामा यो पुस्तकालयलाई अघि बढाउनुपर्छ भन्ने बिषयमा यहाँका जनप्रतिनिधि, राजनैतिक दल, समाजसेवी तथा स्थानीयहरुको आँखा नपरेको जस्तो महसुस भैरहेको बताए । उनले पुस्तकालयलाई पर्ने विभिन्न समस्यामा नगरपालिका साझेदार रहेको बताउँदै समस्या समाधानमा नगरपालिकाले अग्रणी भूमिका निर्वाह गर्ने र यहाँका हरेक गतिविधिमा नगरपालिका सहभागी हुने प्रतिवद्धता जनाए ।
कार्यक्रममा मन्तब्य राख्दै सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेल्बासेले विश्वमा पुस्तकालयको इतिहास इसापूर्व पाँचसय बर्ष अघिदेखि रहेको बताउँदै सैनामैना नगरपालिकामा रहेको एकमात्र पुस्तकालय तिनाउ पुस्तकालयमा पुस्तकालय दिवस मनाउन पाउनु सैनामैनाका लागि आफैमा गौरवको बिषय भएको बताए ।
त्यसैगरि कार्यक्रममा पुस्तकालयका अध्यक्ष गोपाल भण्डारीले आजको दिन पुस्तकालयका लागि खुसीको दिन हो भन्दै यो पुस्तकालय पनि कतै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता लागिरहेको बेला सैनामैना नगरपालिकाको रोजाईमा पर्न सफल हुनु गौरवको बिषय भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, वडा नं. ८ का वडा अध्यक्ष बुद्धि चौधरी, पुरस्कृत पत्रकार दामोदर खनाल र डाक्टर बिनोद पराजुलीले पनि बोलेका थिए ।
पुस्तकालयका सचिब रिमबहादुर श्रेष्ठको सञ्चालन तथा बरिष्ठ उपाध्यक्ष माया ज्ञवालीको स्वागतमा सम्पन्न कार्यक्रममा स्थानिय बिद्यार्थी तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहेको थियो ।







