धनगढी,१५ भदौ ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध अनेरास्ववियूले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेको हो ।

शुुक्रबार दिउँसो परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा पुगेका नेता तथा विद्यार्थीले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक देवसिंह नाथले १२–१५ जनाको समूहमा आएका समाजवादी सम्बद्ध अनेरास्ववियूका नेता तथा कार्यकर्ताले तोडफोड गरेको जानकारी दिए । उनकाअनुसार उनीहरुले आफूहरुले लगाएको ताला किन तोडेको भन्दै कार्यालयमा तोडफोड गरेका थिए ।

सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, सिसा, कागजपत्र भएको दराजमा क्षति पुुगेको छ । अनेरास्ववियूले कार्यकक्षमा तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ । अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सिर्जना हुनुमा स्वयं परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको जनाएको छ ।

अनेरास्ववियूका नेता तोयराज जोशीले परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग गर्दै तालाबन्दी गरिएकोमा त्यसबारे कुनै सल्लाह परीक्षा नियन्त्रक नाथसहित उपपकुलपति डा. अमराज जोशी, रजिस्ट्रार यज्ञराज पाठकले बाहुबलीका भरमा ताला तोडेपछि तोडफोडको अवस्था सिर्जना भएको दाबी गरे ।

स्नातक तह छैटौँ सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि गर्नेमाथि कारबाहीको माग गरेर अनेरास्ववियुले गत १८ साउनमा तालाबन्दी गरेको थियो ।

अनेरास्ववियुले लगाएको ताला विश्वविद्यालयले भदौ १० गते तोडेएको थियो ।