पोखरा,१५ भदौ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संंयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा कुनै आवेगमा नबनाइएको पनि बताए । उनले भने, ‘मोर्चा कुनै आवेगमा बनाइएको होइन। सानो उद्देश्य लिएर बनाइएको पनि होइन। निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन। यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो।’
उनले समाजवादी मोर्चाको बाटोमा आधिकांश सहयोद्धाहरु रहेको बताए ।
सरकारको मोर्चाबाट आफूहरुले सकेसम्म जनमुखी काम गरिरहेको उनले बताए । उनले भने, ‘सरकारको मोर्चाबाट हामीले सकेसम्म जनमुखी काम गरिरहेका छौँ। यहाँ परिवर्तन रक्षा गर्ने कि ध्वस्त पार्ने भन्ने बहस छ। संसद र लोकतन्त्र कमजोर पार्ने षड्यन्त्र चिरेर यहाँ आएका छौँ। चार दलको यो मोर्चा थप बिस्तारित हुँदै जानेछ। अन्य वामपन्थी, लोकतान्त्रिक र समाजवादी शक्ति एकतावद्ध हुँदै जानेछन्। यो विशाल शक्ति बन्दै जानेछ ।’
सरकार बेथितिका विरूद्ध लडिरहेको बताउँदै उनले नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा काम गरिरहेको समेत दाबी गरे । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी अभियान मात्रै होइन राष्ट्रिय गौरवका आयोजनलाई पनि गति दिने प्रयासमा सरकार रहेको बताए ।
भ्रष्टाचारका कारण देश थिलोथिलो भएको बताउँदै उनले सरकार त्यसविरुद्ध कठोर रुपमा प्रस्तुत भैरहेको बताए । ‘
भ्रष्टाचारका कारण देश थिलोथिलो भएको भन्दै उनलेे राज्य नै संस्थागत भ्रष्टाचारमा संलग्न हुने परिस्थिति गम्भीर भएको उल्लेख गरे । त्यसलाई तोड्न नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकार कठोर रूपमा प्रस्तुत भएको उनलेे बताए ।
उनले अर्थतन्त्रलाई गतिमा ल्याउन महत्वपूर्ण कामहरु भएको समेत बताए ।






