काठमाण्डौ,१४ भदौ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कक्षा १२ को पढाइ सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् । नेपालमा नै धेरै अवसरहरू भएको भन्दै उनले ५० देखि १०० प्रतिशत छात्रवृत्तिविनाको अध्ययनका लागि विदेश जान नहुने बताए । उनले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्दा राम्रो अवसर समेत पाउन नसकेको दाबी गरे ।

अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधिको क्षेत्रमा ठूलो अवसर रहेको बताउनुभयो । उहाँले पछिल्लो समय ठूलो संख्यामा युवाहरू सूचना प्रविधिको क्षेत्रमा लागे पनि करको दायरामा भने नआएको गुनासो गरे । उनले नेपालबाट बेलायतमा १०० मिलियन पाउन्ड बराबरको सट्वयेरहरू निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गरे । आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि मन्त्री महतले जानकारी गराए ।

उनले सूचना प्रविधि र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको अर्थमन्त्रीले बताए । पर्यटन प्रवर्धनका लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको उनको भनाइ थियो । पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने देखिएको उल्लेख गरे ।