काठमाडौं,१२ भदौ ।
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्न लागेपछि गणपूरक संख्या नपुगेको भन्दै सांसदहरूले नियमापत्ति जनाएका थिए ।
सांसदहरूको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको संख्या यकिन गर्न निर्देशन दिए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधि सभामा कायम रहेका सदस्यको एक चौथाइ ६९ हुनुपर्नेमा ५९ मात्रै पुगेपछि आजको बैठक स्थगित भएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक यही भदौ १८ गते सोमबार दिनको १ बजे बस्नेगरी स्थगित भएको हो ।
विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि सुधार गर्न केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको भन्दै कानुनमन्त्री गुरुङले यो विधेयक संसदमा दर्ता गराएका थिए ।






