काठमाडौँ,११ भदौ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित हभएका खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताए ।
उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । नवनिर्वाचित सभापति खतिवडाले भने, ‘…यो समिति सरकार बिरोधी पनि हुँदैन । र, सरकार पक्षको पनि हुँदैन । समिति समितिका रूपमा अगाडि बढ्छ । सुनकाण्डलगायतका सबै विषयमा छलफल हुन्छ । आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ ? यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ ।’
नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरुले सोही अनुसारको कार्ययोजना बनाएर अघि बढ्ने समेत बताए ।





