काठमाडौँ,९ भदौ ।
राष्ट्रिय मानवअधिकार आयोगले इन्जिनियरिङको शुल्क वृद्धिको विरोधमा आमरण अनशनमा बसेका विद्यार्थी सुलभ चापागाईँको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

भदौ ४ गतेदेखि पुल्चोक इन्जिनियरिङ कलेजमा आमरण अनशन बस्दै आएका चापागाईँको जीवन रक्षा गर्न आग्रह गरेको हो । उनले उठान गरेका मागप्रति गम्भीर बन्न सरकारलाई भनेको छ ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तह अध्ययन शुल्क बढाएर ७ लाख ७७ हजार रुपैयाँ पुर्‍याएको विरोधमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका नेविसंघका इकाई सभापति चापागाईँ अनशनमा बसेका छन् । आयोगको टोलीले शनिवार अनशन स्थलको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको, रक्तचाप र रगतमा चिनीको मात्रा घटेको, उनको स्वास्थ्य अवस्थाको बारेमा पाटन र वीर अस्पतालबाट चिकित्सक आई निगरानी गरिरहेको र हाल स्लाइन पानी दिएर राखिएको आयोगले जनाएको छ ।

संस्थानले वार्ता टोली गठन गरी केही चरणमा वार्ता भएपनि वार्ताबाट कुनै निष्कर्ष ननिस्केको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै चापागाईँको स्वास्थ्य अवस्था कमजोर बनेले जीवन रक्षा गर्न भनेका हुन् । संस्थानमा भएको शुल्क वृद्धिको विषयमा वार्ता र संवादकै माध्यमबाट उचित निष्कर्ष निकाल्न समेत आग्रह गरेको छ ।