धादिङ,६ भदौ ।
धादिङको गजुरी नजिकै त्रिशूली नदीमा बस खसेर मृत्यु भएका आठमध्ये चार जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा रहेका छन् ।

काठमाण्डौबाट पोखराका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे धादिङको गजुरी नजिकै सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खस्दा जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा दुई जना महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक एक जना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएकामा १३ जनालाई थप उपचारका लागि काठमाण्डौ लगिएको र बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताए ।

काठमाण्डौबाट छुट्दा बसमा २३ जना रहेको विवरण भए पनि दुर्घटना हुँदा कति जना थिए भन्ने खुलेको छैन ।