काठमाडौँ,६ भदौ ।
इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिकाे सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले बिराेध जनाएको छ ।
नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान (आईओेई) ले गरेको शुल्कवृद्धि फिर्ता लिन माग गरेको छ ।
बुधबार नेविसंघले पत्रकार सम्मेलन गरी इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धि फिर्ता लिन माग गरेको हो । अध्यक्ष दुजाङ शेर्पाले शुल्कवृद्धिको निर्णय फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।
२५ साउनमा बसेको संस्थानको बैठकले बीई र बीआर्कतर्फको शुल्कवृद्धि गर्ने निर्णय गरेको थियो । नेविसंघले गुणस्तरीय इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै शुल्कवृद्धि नगर्न आग्रह गरेको हो ।
शुल्क वृद्धि नगर्दा संस्थान सञ्चालनमै समस्या आउने बाहना गरेको भन्दै नेविसंघले त्यस्तो समस्या समाधानका लागि सरकारसँग पहल गर्न आग्रह गरेको छ । संस्थानले शुल्क वृद्धि गरेपछि विद्यार्थीहरू अहिले आमरण अनशनमा बसेका छन् । नेविसंघका अध्यक्ष शेर्पाले अनशनरत पक्षको मागमा समर्थन जनाउँदै तत्काल शुल्कवृद्धि फिर्ता नभए आन्दोलनमा उत्रिन बाध्य हुने बताएका छन् ।







