चितवन,५ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भरतपुरमा निर्माण भएको २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको
उदघाटन गरेका छन् ।

मंगलबार भरतपुर महानगरपालिका-११ आँपटारीमा मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनको प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका हुन् ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी तथा विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण भएको हो ।

हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर रहेको छ । एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सवस्टेसनबाट सुरू भई नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ।

साे अवसरमा प्रधानमन्त्री प्रचण्डले विशेष रणनीतिक महत्वको प्रसारण लाइन र सबस्टेशनको उदघाटन भएको बताए ।

उनले उत्पादनमा ढिलाइ भइरहेको अस्थामा तीव्रता दिँदै देशभित्र सबैतिर सकेसम्म बढी विद्युत खपतको वातावरण बनाउने बताए ।

देशमा क्षमता अनुसारको विद्युत् खपत गरेर बाँकी विद्युत् अन्य देशलाई बेच्ने लक्ष्य रहेको भन्दै प्रधानमन्त्री दाहालले यसले देशको अर्थतन्त्रमा सुधार ल्याउने विस्वास ब्यक्त गरे ।

उनले आफ्नो भारत भ्रमणमा १० हजार मेगावाट १० वर्षभित्रमा बेच्ने सहमति भएकाले त्यहीअनुसार योजनाहरू अघि बढ्ने बताए ।

बंगलादेशलाई पनि विद्युत बेच्ने त्रिपक्षीय समक्षदारी बनेको भन्दै उनले नेपालमा उत्पादन भएको विद्युत बंगलादेश पठाउने बाटो खुलेको उल्लेख गरे ।

आसन्न चीन भ्रमणमा त्यता पनि विद्युत बेच्न प्रसारणलाइन बिस्तार गर्ने कुरा अघि बढाउने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

कार्यक्रममा उर्जा तथा जलश्रोत मन्त्री शक्ति बस्नेतले उत्पादित विद्युतको भार बहन गर्न सक्नेगरी प्रसारण लाइन बिस्तार गर्दै लगेको भन्दै अन्तरदेशीय प्रसारण लाइन बिस्तार गर्दै विद्युत विक्री गरिने बताए ।

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको बताए । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा यो आयोजना सुरू गरिएको थियो ।

प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायत कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैंक आयोजनाबाट २०७८ कात्तिकबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको हो ।