काठमाडौँ,५ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार बिहान सर्वदलीय बैठक बसेको छ । आजको संसद् बैठक अगाडि उनले शीर्ष दलका नेताहरूलाई शीतल निवासमा डाकेका हुन् ।

बैठकका क्रममा राष्ट्रपति पौडेलसमक्ष संसद्‌को अवरोध खोल्नेदेखि देशको आर्थिक स्थितिलगायतका समसामयिक विषयमा नेताहरूले आफ्नो धारणा राखेका छन् । विमानस्थलबाट भित्रिएको तस्करीको सुनबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० देखि निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपतिले त्यसप्रति चासो देखाएका हुन् । बैठकमा एमालेका नेताहरु भने अनुपस्थित थिए ।

बैठकमा राष्ट्रपतिले आफूलाई नेपालको संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको धारणा व्यक्त गरेका छन् ।
जनताका यावत् समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका बेला सबै दलहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको उनले बताए ।

सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुंगोमा पुग्न नसकेको र यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पूरा हुन नसक्ने राष्ट्रपति पौडेलले बताए । बैठकमा उनले देशको आर्थिक र समसामयिक अवस्थाबारे पनि आफ्ना धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् सुचारु होस् र यसमा राजनीतिक दलबीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको सकारात्मक धारणा रहेको बताए ।

‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ उनले भने, ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौं । संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।’