काठमाडौँ,४ भदौ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरि बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।

गिरिको स्मृति दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समाजवादी चिन्तकका रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरिकै नाम आउने बताएका हुन् । सभापति देउवाले गिरिका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए ।

गिरिका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुनेसमेत उनको भनाइ छ । ‘समाजवादी चिन्तकका रूपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान हो, बिपी पछिको ठूलो समाजवादी चिन्तक हो । उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ । उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रूपमा लिएको छु । उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ,’ उनले भने ।

सभापति देउवाले प्रदीप गिरिप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए ।