काठमाण्डौ,१ भदौ ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज शुक्रवार उपचारपछि कीर्तिपुरमा रहेको बर्न सेन्टरबाट ’डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि भण्डारीलाई डिस्चार्ज गरिएको जानकारी दिए ।

झन्डै छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परि घाइते भएका भण्डारीको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो ।

भण्डारीको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिमोथी स्प्रौलसहित प्रा. डा. बिडी झा, प्रा. डा. शंकरमान राई, डा. किरण नकर्मी, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. विशाल कार्की डा. प्रविन गिरी, डा. सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा. प्रज्वल श्रेष्ठ गरी ११ जनाको चिकित्सकको टोली उपचारमा संलग्न रहेको थियो ।

गएको फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा. भण्डारीको शुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाण्डौको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।