पाल्पा,३२ साउन ।
पाल्पामा आँखा पाक्ने संक्रमण बढेपछि रम्भा र रामपुरका दर्जन विद्यालय बन्द भएका छन् ।

पछिल्ला दिनमा पाल्पामा फैलिएको आँखा पाक्ने समस्या (कन्जङ्टिभाइटिस) का बिरामीको संख्या बढेपछि रम्भा गाउँपालिका र रामपुर नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी विद्यालय बन्द भएका हुन् ।

विद्यालयका ५० प्रतिशत बढी विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिएपछि स्थानीय सरकारले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयमा बिदा राख्न सकिने व्यहोराको सूचना जारी गरेको थियो ।

विद्यालयमा बालबालिका बढी प्रभावित भएपछि रामपुर नगरपालिकाभित्रका प्याब्सनअन्तर्गतका सबै विद्यालयमा बिदा दिएका छन् ।

रामपुरको रामपुर बोर्डिङ, भूपू सैनिक, आनन्द निकेतन, रजघरा बोर्डिङ, गेझा सनराइज, विजयपुर इङलिस बोर्डिङ स्कुलले बिदा दिएका छन् । रामपुर नगरपालिका क्षेत्रकै कृष्णादेवी मावि भलायटारले पनि बिदा दिएको रामपुर नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । उनका अनुसार विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण फैलिएको र सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई समस्याको अवस्थालाई मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिको बैठक बसेर स्थानीय विद्यालयमा बिदा दिन सकिने व्यहोरासहितको सूचना जारी गरेको हो । सोहीअनुसार आँखा पाक्ने रोगको समस्या बढ्दै गएकाले आँखाको सुरक्षासम्बन्धी सचेतता गर्न गराउनसमेत आग्रह गरिएको छ ।

रम्भा गाउँपालिकाअन्तर्गतका जनकल्याण मावि हुँगी र श्रीकृष्ण गण्डकी मावि असेर्दी हुँगीले केही दिनका लागि बिदा दिएको शिक्षा शाखा अधिकृत मीना आचार्यले बताइन् । स्थानीय बिदा र हिउँदे बिदा कटिने गरी उनीहरूले बिदा दिएका हुन् । जनकल्याण माविका शिक्षक नारायण भट्टराईका अनुसार विद्यालयमा ५० प्रतिशतभन्दा बढीमा आँखा पाक्ने रोगको संक्रमण देखिएकाले विद्यालय व्यवस्थापन समितिको निर्णय गरेर बिदा दिइएको हो ।