काठमाडौं, ३२ साउन ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसि स्थगित भएको छ ।
बिहीवार सिंहदरबारमा बोलाइएको संसदीय समितिको बैठक गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो । आजको सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको थियो ।
संसदीय समितिको नेतृत्व चयन हुन नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिष्कार गरेपछि समितिमा गणपूरक संख्या नपुगेको हो ।
बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका सांसद एवं सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले अहिले संसद नचलिरहेको समयमा समितिहरु जागरुक हुँदा संसदलाई चलाउन निकास निस्किनसक्ने भएकाले पनि बैठक बोलाइएको बताए ।
उनले राष्ट्रिय समस्याको रुपमा रहेको बेरुजु, आर्थिक हिनामिना र अनियमितताबारे छलफल गर्न लागेपनि कोरम नपुग्दा बैठक बस्न नसकेको बताए ।
ज्येष्ठ सदस्य सभापति केसीले सबै समितिमा सभापति सकेसम्म चाँडो चयन हुनुपर्ने बताए । ‘हामीले आज अहिले राष्ट्रिय समस्याको रुपमा रहेको बेरुजु जुन छ, आर्थिक हिनामिना र अनियमितताको कुरामा छलफल गर्न लागेका थियौ । त्यसमा छलफल गर्न बैठक बोलाइएको भएपनि कोरम पुग्न सकेन त्यसकारण स्थगित भयो । सबै समितिमा सभापति सकेसम्म चाँडो आओस् ।’ उनले भने ।






