काठमाडौं,३० साउन ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका १० कर्मचारी फरार भएका छन् ।

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले सिटिजन्स बैंकको बुटवल क्षेत्रमा कार्यरत ५ सहित ६ जना कर्मचारीलाई सोमबार साँझ पक्राउ गरेको थियो ।
उनीहरू सिटिजन्स बैंकको बुटवल क्षेत्रका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा बुटवल शाखाका मनिष मास्के र खिमानन्द गौतम, मनिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाबाट कल्पना खत्री र प्रतिक्षा रेग्मी, तथा मुद्दा शाखामा कार्यरत दिपक विष्ट रहेका छन् । उनीहरू पक्राउ परेसँगै थप १० जना कर्मचारी फरार रहेको प्रहरीको दाबी छ ।

फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना रहेका छन् । उनीहरूले भारतका विभिन्न विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र लिएको र उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताको प्रमाणपत्र लिँदा किर्ते गरेको खुलेको प्रहरीले जनाएको छ ।

समकक्षता प्रमाण पत्र बाहेक शैक्षिक प्रमाणपत्रसमेत नक्कली हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले शैक्षिक प्रमाणपत्रबारेसमेत अनुसन्धान थालेको छ ।