एजेन्सी,३० साउन ।
भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा बाढी पहिरो कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
हिमाचल का मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । त्यहाँ खोजी र उद्धारको काम निरन्तर भैरहेको छ । ठूलो वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।
राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको मौसम विज्ञान विभागले हिमाचल मा अझै केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।
मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा भवन, सडक तथा पुलहरू भत्किएका छन् । हिमाचल राज्यको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार त्यहाँका सात सय ५० भन्दा धेरै सडक बन्द भएका छन् ।






