दाङ,२६ साउन ।
नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गएको असार ३ गते लगाएको ताला ५५ दिनपछि आज शुक्रवार खुलेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा. डा. भीम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो । स्ववियुले इन्टर्नशिप भत्ता वृद्धिको माग गर्दै ताला लगाएको थियो ।
विश्वविद्यालयले आफ्ना माग पूरा गर्ने भएपछि ताला खोलेको स्ववियुले जनाएको छ ।

विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डिन प्रा. डा. चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले विश्वविद्यालयको अधिकृतस्तरको शुरुवाती तलबको ५० प्रतिशत बराबरको इन्टर्नशिप भत्ता प्रदान गर्ने सहमति भएको विश्वविद्यालयको वार्ता टोलीका सदस्य सचिव अनिल पोख्रेलले जानकारी दिए । उनका अनुसार यो निर्णय २०८० साउनदेखि लागू हुनेछ ।