काठमाडौँ,२६ साउन ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् । रोहनलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

अध्यागमन कार्यालयले पक्राउ गरेका उनलाई
राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

उनी भारतीय राहदानी प्रयोग गरेर इन्डिगो जहाजबाट नेपाल आएका थिए ।

राकेश भने सुन बरामदपछि फरार छन् । यसअघि अडुकियाको घरमा विभागले छापा मारेको थियो ।

क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको थियो । सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् । उनको पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको हुनसक्ने आशंका गरिएको छ ।

क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।

साे प्रकरणमा अहिलेसम्म ५ विदेशीसहित २१ जना पक्राउ परिसकेका छन् ।