काठमाडौं,२४ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ ।
एमालेका सांसदहरूकाे अवरोधका कारण बुधबारकाे बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सासदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेर बिराेध जनाएका थिए ।
एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन् ।
यसअघि बुधबार नै बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
एमालेले साउन १० गते यता संघीय संसदको दुवै सभामा अवरोध गर्दै आएको छ ।






