काठमाडौँ,२४ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूकाे अबरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै बैठक एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन समितिको माग गर्दै विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले एमाले सांसद सुर्य थापालाई बोल्न समय दिएपछि सत्तापक्ष माओवादी, कांग्रेस, जसपाका सांसदहरु पनि विरोधमा उभिएका थिए ।

थापाले बोलेपछि एमाले सांसदहरुले सभामुखको वेल घेराउ गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरे ।

सभामुख देवराज घिमिरेले आफ्नो आशनमा फर्किएर बैठक सुचारु गर्न आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी कायम राखे । एमालेका सांसदहरूले अवरोध र नाराबाजी कायम रहेपछि सभामुखले साउन २६ गते शुक्रबार दिँउसो १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।