मकवानपुर,२३ साउन ।
मकवानपुर र काभ्रेको सिमानामा रहेको सिक्रे दोभानको पहिरोमा परी बेपत्ता भएका एक जनाको जीवितै उद्धार गरिएको छ । पहिरोमा परि बेपत्ता भएका उनको १२ घण्टापछि जीवितै उद्धार गरिएको हो ।
प्रहरीको उद्धार टोलीले बागमती खोलाबाट उनलाई जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पहिरो गएको स्थानभन्दा केही तलबाट एक पुरुषको उद्धार गरिएको हो । उद्धार गरिएका पुरुषलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको उनले बताए । उद्धार गरिएका पुरुषको खुट्टामा समस्या देखिएको छ भने अन्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए ।
पहिरोमा परी अझै ५ जना बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी कार्य भइरहेको छ ।






