काठमाडौं,२० साउन
नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरू गरेको छ ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार शनिबारदेखि सुरू भएको आन्तरिक अभियान १० दिन चल्नेछ ।
साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई अभियानमा परिचालन गरेको छ ।
उनीहरूले संगठन बलियो बनाउन जिल्ला कार्यसमिति लगायत पार्टीका तल्ला समितिहरूसँग छलफल गरेर आवश्यक रणनीतिसमेत तय गर्नेछन् ।
आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म `समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान´ सञ्चालन हुने महामन्त्री शर्माले बताए ।
कांग्रेसले यो वर्ष ५ लाखदेखि ७ लाखसम्म सदस्य पार्टीमा थप गर्ने नीति लिएको छ । २०७८ मा भएको १४ औं महाधिवेशनमा कांग्रेस क्रियाशिल सदस्य ८ लाख ४६ हजार पुगेका थिए ।






