बुटवल,१८ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ ।
पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
बिहीबार बसेकाे पार्टीको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
उता पार्टीलाई विधि विधान अनुसार चलाउनुपर्छ भन्ने आवाज उठाउने रूपन्देहीका दामोदर खत्रीलाई भने तीन महिनाको लागि निलम्बन गरेको छ । खत्री पार्टीमा फर्कन चाहेर सोही अनुुसार योगदान गरेको पुष्टि भए तिन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिनसक्ने ढकालले जानकारी दिए ।
बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।
पत्रकार कुटेको आराेप लागेका बझाङ संयोजकको निलम्बन फुकुवा गर्ने र पार्टीलाई विधि विधान अनुसार चलाउनुपर्छ भन्ने आवाज उठाउने रूपन्देहीका खत्री निलम्बन गर्ने रास्वपाकाे निर्णयकाे आलोचना सुरु भएको छ ।
खत्रीले पार्टीका तत्कालीन रूपन्देही संयोजक सरकारी विद्यालयका शिक्षक भएको र पार्टीको विधानमा शिक्षक पार्टीको सदस्य नहुने ब्यवस्था रहेको भनेर पार्टीमा कुरा उठाएपछि भएको बिवादमा कुटपिटको अबस्थामा पुगेको थियो ।
बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ । टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए ।
जनताले रास्वपालाई कस्तो दल देख्न चाहन्छन् ? भन्ने बुझ्नका लागि गाउँ जान लागेकाे उनलेे बताए ।
राजनीतिक दस्तावेज तयार गर्न गाउँ जाने टोलीको खर्च पार्टीले बेहोर्ने भएको छ ।






