काठमाडौं,१८ साउन ।
विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् ।

माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेमा प्रदर्शन गर्न रोकेको छ । त्यस क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।

सहकारी पीडित र प्रहरीबीच भएको झडपका कारण बन्द भएको बिजुली बजारको सडक खुलेको छ ।

आज दिउँसो सहकारी पीडितले प्रदर्शन गर्ने क्रममा माइतीघरदेखि बानेश्वरतर्फ अघि बढेको जुलुसलाई प्रहरीले बिजुली बजारमा रोकेपछि झडप भएको थियो । प्रहरीले हस्तक्षेप गरेपछि पीडित केहीबेर सडक बन्द हुने गरी धर्नामा बसेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई हस्तक्षेप गरी सडक खुलाएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए ।

नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न प्रदर्शनकारी अघि बढेपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी उनीहरूलाई हटाएको प्रहरीले जनाएको छ ।
उनीहरुले आफ्नो वचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् ।