काठमाडौँ,१६ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

मंगलबारका लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले सहज ढंगले बैठक सञ्चालनका लागि दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टलबढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउनुपर्ने माग राखेर एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ ।

सो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक पनि एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।